काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा दलित समुदायको लागि विशेष कार्यक्रम घोषणा हुने बताएका छन्।
मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस(२१ मार्च)को सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताएका हुन्।
उनले आफ्नो यो कार्यकालमा दलित समुदायले सयौं वर्षसम्म सम्झनेगरी केही कार्यक्रम घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले दलित समुदायका माग र मुद्दाहरुको सम्बोधन अहिलेको परिस्थितिमा आफूलेबाहेक अरुले गर्न नसक्ने दाबीसमेत गरे।
उनले भने, ‘अहिले भर्खरै २० सुत्रिय माग राखिएको छ। मलाई लाग्छ, नेपालमा आजको मितिमा, म सधैं भन्दिनँ, आजको दिनमा मैले गर्न सके त्यो अगाडि जान्छ। अरुले गर्ने स्थिति मैले देखेको छैन। त्यसकारण म तपाईंहरुको अगाडि आजको यो ऐतिहासिक दिनमा के घोषणा गर्न चाहान्छु भने मेरो यो कार्यकालमा दलितहरुले भविष्यसम्म, सयौं वर्षसम्म सम्झिनेगरी केही घोषणा म गर्दैछु। म गर्नेछु। यो विश्वास र प्रतिबद्धता म तपाईंहरुको अगाडि व्यक्त गर्न चाहन्छु।’
प्रधानमन्त्री प्रचण्डले दलित समुदायको हक र अधिकारको निम्ति सिंगो राज्य र राज्यका निकायहरु जिम्मेवारपूर्ण हुनुपर्नेमा सरकार स्पष्ट रहेको बताए। उनले दलित समुदायको विकास र उन्नतिका लागि राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार दिनुपर्ने उल्लेख गरे।
त्यस्तै सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिने उनको भनाइ छ। यसका निम्ति आवश्यक भूमिका खेल्न सरकार प्रतिबद्ध रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।