काठमाडौं- बाजुराको बुढिनन्दा क्याम्पस कोल्टीमा स्थगित गरिएको स्ववियु निर्वाचनलाई तत्काल सुचारू गर्न तीन विद्यार्थी संगठनले माग गरेका छन्।
स्ववियु निर्वाचनको क्रममा आइतबार विद्यार्थी संगठनबीच झडप हुँदा उक्त क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको थियो। तीन दलिय बाम-लोकतान्त्रिक विद्यार्थीहरूले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल स्ववियु निर्वाचन गर्न माग गरेका हुन्।
नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) र नेकपा एकीकृत समाजवादि निकट अनेरास्ववियूले स्थगित भएको निर्वाचन तत्काल सुचारु गर्न माग गरेका हुन्।
बुढिनन्दा क्याम्पस कोल्टीमा विद्यार्थीहरुले आफ्नो स्वविवेक प्रयोग गरी निर्वाचन भइरहेको समयमा नेकपा एमाले निकट अनेरास्ववियुले निर्वाचन विथोल्ने प्रयास गरेको भन्दै संयुक्त गठवन्धनले आपत्ति जनाएका छन्।
स्ववियु निर्वाचनमा पराजित मानसिकताबाट निर्वाचन बिथोल्ने मनसायका साथ शान्त वातावरणमा भइरहेको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले गुण्डागर्दी शैलीमा एक्कासी ढुगांमुढा र नांगो खुकुरी प्रदर्शन गर्दै विद्यार्थीहरुलाई त्रसित पार्ने र सांघातिक हमलामा उत्रेको तीनवटै संगठनद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।
संयुक्त रूपमा जारी गरिएको उक्त विज्ञप्तिमा स्ववियु निर्वाचनलाई अबिलम्व सुचारु गर्न क्याम्पस प्रशासन र निर्वाचन मण्डल समक्ष माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।