काठमाडौं– सभामुख देवराज घिमिरेले सोमबार साँझ नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफल गरेका छन्।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा सञ्चारमैत्री कानुन निर्माण, सभामा रहेका सञ्चारसँग सम्बन्धित विधेयकहरुको अवस्थालगायतका विषयमा छलफल भएको छ।
भेटमा महासंघको प्रतिनिधिमण्डलले चैत ३ गते महासंघसँग भएको शुभकामना आदान प्रदान कार्यक्रममा सभामुखबाट व्यक्त धारणाले सञ्चारकर्मीको आत्मसम्मानमा चोट परेको बताएको थियो।
सभामुख घिमिरेले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धतामा कहिल्यै कमी नआउने बताए। उनले शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति आफू चिन्तित रहेको बताउँदै संसद् र प्रेससँगको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए।
सभामुख घिमिरेले सञ्चारकर्मीका लागि संसद् सदा खुला रहने बताउँदै सञ्चारसँग सम्बन्धित कानुन निर्माण गर्दा महासंघसहित सरोकारवालासँग छलफल गर्ने बताए।
भेटमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवाल थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।