काठमाडौं– सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक विश्वासको मत लिए। पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सोमबार दोस्रोपटक विश्वासको मत लिएका हुन्।
पहिलोपटक उनले फागुन २६ गते विश्वासको मत लिएका थिए। तर प्रचण्डले नयाँ गठबन्धन बनाएपछि तत्कालीन सत्तासाझेदार एमाले लगायतका दलले समर्थन फिर्ता लिएपछि सोमबार पुन: विश्वासको मत लिएका हुन्।
विश्वासको मत लिँदै गर्दा प्रतिनिधि सभामा २६२ जना सांसद उपस्थित थिए। जसमा १७२ जना सांसदले पक्षमा मत दिए भने ८९ जनाले विपक्षमा मत दिए। एक मत भने कतै पनि परेन।
प्रतिनिधि सभाका २७५ जना सांसदमध्ये पाँचवटा रिक्त छ। यस्तै सात जना भने विश्वासको मत लिँदा उपस्थित भएनन्। देवराज घिमिरे सभामुख भएकाले उनले विश्वासको मत दिएनन्।
यस्तै कांग्रेस सांसद चन्द्र भण्डारी उपचारका क्रममा मुम्बईमा उपचाररत छन्। यस्तै माओवादी केन्द्रका वर्षमान पुन पनि चीनमा उपचाररत छन्।
एमालेका लक्ष्मी महतो कोइरी भने ज्यान मुद्दाका कारण फरार रहेका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने आफ्नो भनाइ राखेर निस्किएका थिए। उनले विश्वासको मत विभाजनमा भाग लिएनन्। कांग्रेस सांसद मनोरमा शेरचन, स्वतन्त्र सांसद योगेन्द्र मण्डल र एमालेकी शान्ति चौधरी भने अनुपस्थित थिए।
रामचन्द्र पौडेल र रामसहाय यादव भने राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनीहरुको क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुँदैछ। यस्तै नागरिकता प्रकरणका कारण सांसद पद खारेज भएका रविलामिछानेको क्षेत्रमा पनि उपनिर्वाचन हुँदैछ। यता भ्रष्टाचार मुद्दा ठहर भएका कांग्रेस सांसद टेकबहादुर गुरुङ भने निलम्बनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।