काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाटै सरकार विस्तारको प्रक्रिया सुरु हुने बताएका छन्। विश्वासको मत पाएर प्रतिनिधि सभाबाट बाहिरिँदै गर्दा पत्रकारसँग कुरा गर्दै उनले दुई/चार दिनमै सरकारले पूर्णता पाउने बताए।
‘आज विश्वासको मत प्राप्त भएको छ। भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘जो–जो दलहरु गठबन्धनमा छन् उहाँहरुसँग बसेर दुई चार दिनमा सरकारलाई पूर्णता दिने प्रक्रिया अगाडि बढाउँछौ।’
त्यस्तै भारत भ्रमणको चर्चा चलिरहेकाले कहिले हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा उनले अहिले टुंगो नरहेको बताए। ‘भारत भ्रमणको अहिले टुंगो छैन। चैत अन्तिमसम्म हुनसक्छ,’ उनले भने।
प्रधानमन्त्री दाहालले सोमबार दोस्रोपटक विश्वासको मत पाएका छन्। पुस १० गते प्रधानमन्त्री भएका दाहालले पहिलो पटक एमालेसहित सबै दलको विश्वासको मत पाएका थिए।
तर, यसपटक एमाले र राप्रपाले पनि विपक्षमा मतदान गरेको छ। एमालेको सर्मथनमा प्रधानमन्त्री भएका प्रचण्डले दुई महिनामै सत्ता गठबन्धन परिर्वतन गर्दै नेपाली कांग्रेससहितको सरकार विस्तार गर्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।