काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको गठबन्धन छोड्दा आफूलाई कुनै पश्ताचाप नभएको बताएका छन्। प्रतिनिधि सभामा विश्वासको मत माग्दा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले प्रधानमन्त्रीभन्दा शान्ति र संविधान खोजेको दावी गरे।
ओलीसँग अजेन्डा नमिलेको कारण गठबन्धन छोडेको समेत उनले बताए। ‘दुई तिहाइ बहुमत प्राप्त सरकारको प्रधानमन्त्री किन पटकपटक संसद् विघटन गर्नुपर्ने अवस्थामा पुगे? केन्द्र सरकार किन गयो? सातै प्रदेशको सरकार किन गुम्यो?’ उनले भने, ‘यसको समीक्षा नगरी एकअर्कालाई दोषारोपण गरेर मात्र हुँदैन।’
हिजो संविधान र शान्ति सम्झौता गर्दा एउटा सिद्धान्तमा टेकेर गरेको उनले बताए। संविधानमाथि नै घात हुने गरी अघि बढेपछि विग्रह भएको भन्दै प्रचण्डले सबैले मम भन्नुपर्ने बताए। उनले सातै प्रदेशमा आफ्नै सरकार, दुई तिहाइ जताततै, हातैभरि नियुक्ति थियो। तर किन यस्तो अवस्था अन्त्य भयो समीक्षा हुनुपर्ने बताए।
गणतन्त्र र परिर्वतनको रक्षा कसले गर्छ भनेर हेर्दा शान्ति प्रक्रियामा हस्ताक्षर गर्नेहरुको आवश्यकता देखेर निर्णय लिएको भन्दै उनले आफूलाई कुनै पश्ताचाप नभएको बताए।
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाएकोमा केपी शर्मा ओलीप्रति आभार समेत व्यक्त गरे। उनले भने, ‘मैले ओलीलाई २ पटक प्रधानमन्त्री बनाएँ। उहाँले एक पटक मलाई बनाएर गुन तिर्नुभयो। अझै एउटा बाँकी नै छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।