काठमाडौं- त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएका उपत्यकाका सातै वटा क्याम्पसलाई तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै त्रिविले अमृत क्याम्पस, लैनचौर, त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघर, रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, पाटन संयुक्त क्याम्पस, पाटनढोका, विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग, नेपाल कमर्स क्याम्पस मीनभवन र आयुर्वेद क्याम्पस, कीर्तिपुरलाई स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो।
त्रिभुवन विश्वविद्यालयले देशभरिका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा चैत ५ गते स्ववियु निर्वाचन कार्य सम्पन्न हुनुपर्नेमा उपत्यकाका सात वटा क्याम्पसमा के कति कारणले स्ववियु निर्वाचन हुन नसकेको हो? भन्दै जवाफ माग गरेको छ।
साथै, तत्कालै क्याम्पसका सम्बद्ध पक्षसँग समझदारी कायम गरी तत्कालै स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन गरिएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।