काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता डोलप्रसाद अर्यालले सकेसम्म देश चाँडो छाड्न चाहने अवस्था कसले बनायो भन्दै प्रश्न गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासका लागि राखेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले त्यसका केही दोषी यही संसद्मा रहेको उल्लेख गरे।
उनले शीर्ष नेताहरूतर्फ हेर्दै भने, ‘राष्ट्रपतिका सन्तानदेखि गरिबका सन्तानसम्म जसोतसो विदेश पुगेकै छन्। मुलुकुलाई सकेसम्म चाँडो छाड्ने कसले बनायो? सायद यहाँ उपस्थितमध्ये केही त दोषी पक्कै हौं।’
देशका ४० लाख युवाहरू विदेश रहेको अवस्थामा स्वदेश फर्केर केही गर्ने चाहना भएका आफ्नो पार्टीका नेता रवि लामिछाने लखेटिएको उनले बताए।
उनले आफूहरूलाई असफल हुने छुट नभएको बताए। आफूहरू कटाक्ष र गालीगलोज हेर्न नचाहने उल्लेख गरे। सरकारलाई विश्वासको मत दिने बताउँदै उनले आफ्नो पार्टीलाई अप्ठ्यारो परेका बेला सघाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।