काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुरानै गठबन्धनसँग मोह थियो भने पुस १० गते किन एमालेसँग समर्थन लिन आएको भन्दै प्रश्न गरेका छन्। तत्कालीन सत्ता गठबन्धनमा सहमति नजुटेपछि नेकपा एमाले लगायतका दलसँग समर्थन माग्न प्रचण्ड पुगेको उनले स्मरण गराएका छन्।
उनले संसदमा भने, 'तपाईंहरुको समर्थन चाहियो भनेर सशर्त समर्थन दिएका थियौं। तपाईंलाई त्यस्तो के कारण पर्यो र यो सहयात्रामा फर्किनुभएको छ। पुस को १० गते किन पुग्नुभयो? आज तपाईं जवाफ नदिन सक्नुहुन्छ। स्किप गर्नुहोला। तर इतिहासले प्रश्न सोधिरहेनेछ र एउटा बिन्दुमा जवाफ दिनुपर्नेछ।'
प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्नासाथ एमालेसँगको दूरी बढाएको उनले बताएका छन्। प्रचण्डले भन्ने गरेको राष्ट्रिय सहमतिका विषयमा समेत प्रश्न उठाउँदै उनले भने, 'राष्ट्रिय सहमति अरण्य रोदनको कुरा होइन।'
एमालेले जनताको पक्षमा, राष्ट्रको पक्षमा र संविधानको सार्थक कार्यान्वयनको शर्तसहित प्रचण्डलाई समर्थन गरेको उनको भनाइ छ। देशले सामना गरिरहेको आर्थिक समस्या लाई सुल्झाउन तय गरिरहेका न्युनतम साझा कार्यक्रम एमालेका शर्त भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।