काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हीतलाई कमजोर बनाएको आरोप लगाएका छन्।
सोमबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्ड प्रधानमन्त्री बनेको भोलिपल्टबाटै इमान बिर्सिएर अस्थिरतातर्फ गएको आरोप लगाए।
ओलीले प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको पनि आरोप लगाए। उनले प्रधानमन्त्री प्रचण्डले वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाएको बताए।
अध्यक्ष ओलीले मित्र राष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले प्रधानमन्त्रीलाई संसद्मा विश्वास गर्न नसकिने स्पष्ट पारे।
उनले ‘गठबन्धनका स्वार्थी’हरूले प्रधानमन्त्रीमा विश्वासको मत दिएपनि आफ्नो पार्टीले उनलाई विश्वासको मत नदिने सुनाए।
अध्यक्ष ओलीले अब संसदीय समिति बन्न लागेकाले आफूले योगदान गर्नसक्ने समितिको चयन गर्न पार्टीका सांसदहरूलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।