काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको पक्षषोषण गरेकाले आफूलाई ठूलो नैतिक संकट आइपरेको बताएका छन्। अध्यक्ष ओली प्रधानमन्त्री हुँदा दुई–दुई पटक संसद् विघटन गरेको र त्यसलाई प्रतिनिधि सभाको पहिलो बैठकमै बचाउ गरेकोमा प्रचण्डले असन्तुष्ट व्यक्त गरे।
प्रतिनिधि सभाको सोमबारको बैठकमा आफूलाई विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले ओलीको तत्कालीन अभिव्यक्तिप्रति टिप्पणी गरेका हुन्। ‘संसद्को पहिलो दिन नै संसद् विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पायो। र त्यसले सिंगो देश नै तरंगित पनि बन्यो। त्यो विषयको उठान न सान्दार्भिक थियो, न प्रासंगिक नै थियो। देशमा ठूलो राजनीतिक संकट निम्त्याएको त्यो कदम कुनै गर्वको विषय थिएन’, प्रचण्डले भने।
दुई–दुई पटक सर्वोच्च अदालतले नै असंवैधानिक भनिसकेको र संवैधानिक निरुपण भइसकेको त्यो अप्रिय विषयले गठबन्धनमा अविश्वास बढाउनुका साथै संविधान र लोकतन्त्रको निरन्तरता र संसद्को स्थायित्वमै प्रश्न खडा गरेको प्रचण्डको छ। उनले भने, ‘मैले दुःखका साथ भन्नुपर्छ। लगभग सिंगो संसद्को विश्वासको मत पाएको प्रधानमन्त्रीलाई त्यही संसद् विघटनको पक्षपोषणले ठूलो नैतिक, संवैधानिक र राजनीतिक चुनौती दियो।’
प्रतिनिधि सभाको पहिलो बैठकका क्रममा गत पुस २५ गते ओलीले आफूले गरेको प्रतिनिधि सभा विघटनको बचाउ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।