काठमाडौं- महाराजगञ्ज मेडिकल क्याम्पससहित त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चार नर्सिङ क्याम्पसको स्ववियुमा नेकपा एमालेनिकट अनेरास्ववियु विजयी भएको छ।
महाराजगञ्जमा स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियुका उम्मेदवार आनन्दकुमार सिंहले जितेका छन्। उनले ५८६ र नेपाल विद्यार्थी संघकी उम्मेदवार अविशिखा न्यौपानेको ५८४ मत पाएकी हुन्। दुई मतको फरकले सिंहले जित हासिल गरेका हुन्।
सचिवमा अनेरास्ववियुकी उम्मेदवार विपना न्यौपानेले ६३८ मत ल्याएर जित हासिल गरेकी छिन्। नेविसंघका पारस खड्काले ५२९ मत ल्याए।
कोषाध्यक्षमा अनिलकुमार साहले ६२९ मत ल्याएर जित हासिल गरेका छन् भने सुमन वलीले ५३३ मत ल्याएका छन्।
सदस्यहरुमा अनेरास्ववियुकै उम्मेदवार प्रतिभा आचार्य ६३९, वीरेन्द्र कुँवर ६६१, सोमराज गिरी ६१९, युवराज पौडेल ६२८, अनुप सुवेदी ६६३, रितेशकुमार साह ५७९ र अशोक साहले ५७९ मत ल्याएर जित हासिल गरेका छन्।
निर्वाचनमा प्रत्यक्षतर्फ ११८१ मत खसेको थियो। जसमध्ये ११७९ मत सदर र २ मत बदर भएको थियो। समानुपातिकतर्फ अनेरास्ववियुले ५३७ मत ल्याएको छ भने नेविसंघले ५१७ मत प्राप्त गरेको छ।
यसैगरी महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।
अनेरास्ववियुकी नोबिना बस्नेतले २१७ मत ल्याउँदै विजयी भएकी हुन्। उनकी प्रतिपस्पर्धी नेपाल विद्यार्थी संघकी धनुष विश्वकर्माले १३३ मत ल्याइन्। महाराजगञ्ज नर्सिङ क्याम्पसमा कुल ३६९ मतदाता रहेकोमा ३५१ मत खसेको थियो । यस्तै एक मत बदर भएको थियो।
सचिवमा सजिना पन्थ, कोषाध्यक्षमा आयष्मा राय र सदस्यहरुमा बिन्जना केसी, सीमा खनाल, मन्जुशा न्यौपाने, अविषा कार्की र कन्चन सापकोटा विजयी भएका छन्।
त्यस्तै, विराटनगर नर्सिङ क्याम्पस स्ववियुमा सचिव बाहेकको पदमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा अनेरास्ववियुकी प्रशंसा पौडेल विजयी भएकी छिन्।
पौडेलले ९७ मत ल्याएकी छिन्। उनले नेविसंघकी उम्मेदवार स्मारिका बरालको भन्दा १९ मत बढी ल्याएकी छिन्। बरालले ७८ मत पाएकी छिन्। सचिवमा नेविसंघकी एलिसा राउत १ सय ६ मतसहित निर्वाचित भएकी छन्।
सचिवमा अनेरास्ववियुकी उम्मेदवार मनीषा श्रेष्ठले ६८ मत ल्याएकी छिन्। कोषाध्यक्षमा अनेरास्ववियुकी रुचिका ओझाले ९६ मत ल्याएर जित हासिल गरेकी छिन्। नेविसंघकी स्वस्तिका न्यौपानको ७६ मत आएको छ।
सदस्य प्रत्यक्षतर्फ अनेरास्ववियुका उम्मेदवार स्मृति ज्ञवाली, मेलिना राई र योगिना कटवाल विजयी भएका छन्। १ सय ८६ मतदाता रहेको क्याम्पसमा १ सय ८० जनाले मतदानमा सहभागिता जनाएका थिए।
बाँकेस्थित नेपालगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा अखिल क्रान्तिकारीकी दीपिका सोनी निर्वाचित भएकी छिन्। आइतबार भएको निर्वाचनमा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूको गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सोनी विजयी भएकी हुन्। उनको ८१ मत आएको छ।
उनकी प्रतिस्पर्धी निलिमा गिरीले ७८ मत ल्याएकी छिन्। उनी नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुकी उम्मेदवार हुन्। सचिवमा एमाले सम्वद्ध अनेरास्ववियुका देवार्चना अधिकारी विजयी भएकी छिन्। कोषाध्यक्षमा गठबन्धनका तर्फबाट नेविसंघकी रेलुसा खत्री विजयी भएकी छिन्।
सदस्यहरुमा अनेरास्ववियुका इशा पौडेल, विनिता बेल्बासे र गठबन्धनका रश्मी अधिकारी निर्वाचित भएका छन्। क्याम्पसमा आइतबार भएको निर्वाचनमा शतप्रतिशत मतदान भएको छ। क्याम्पसमा १६१ जना मतदाता छन्।
यसैगरी वीरगन्जस्थित वीरगन्ज नर्सिङ क्याम्पसमा एक जना सदस्यबाहेक अन्य सबै पदमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ।
अनेरास्ववियुको तर्फबाट अध्यक्ष पदकी उम्मेदवार मनिषा चौधरीले ९१ मत ल्याएर जित हासिल गरेकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी यामिनी खड्काले ६३ मत ल्याएकी छिन्।
सचिवमा अनेरास्ववियुकै श्रृष्टि तिमिल्सिना ८९ मत र कोषाध्यक्षमा अर्चना गुप्ता ९२ मत ल्याएर विजयी भएका छन्।
सदस्यहरुमा विवेक रनावत ८७, मुन्ना श्रेष्ठ ९८ ल्याएर विजयी भएका छन्। यस्तै सदस्यमा नेपाल विद्यार्थी संघकी स्मृति थापा ७६ मत ल्याएर विजयी भएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।