काठमाडौं– अनिवार्य अवकाशमा जान लागेका आईजी (प्रहरी महानिरीक्षक) धीरज प्रताप सिंहको म्याद थपबारे बाहिर चर्चा चले पनि मन्त्रिपरिषद् बैठकमा भने यसबारे कुनै छलफल भएको छैन।
३० वर्षे सेवा अवधिका कारण चैत १० गते अनिवार्य अवकाशमा जान लागेका सिंहको म्याद थप गर्ने तथा प्रहरी नियमावलीको ३० वर्षे सेवा अवधिको प्रावधान हटाउन लागिएको भन्ने चर्चा चले पनि सोमबारको मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नै नभएको पाइएको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने तथा आईजीको म्याद थपबारे कुनै छलफल नै भएको नेपाल लाइभलाई बताइन्। ‘५ डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय भएको छ। प्रहरीका अन्य विषयमा भने कुनै छलफल भएको छैन,’ शर्माले भनिन्।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कुनै निर्णय नगरेका कारण सिंहको म्याद थप हुने सम्भावना कम छ। यसअघि सरकारले ३० वर्षे सेवा अवधि हटाएर सिंहको म्याद थप गर्न लागेको भन्ने हल्ला चलेको थियो। तर, सोमबारको बैठकमा त्यसबारे छलफल नै भएन।
आईजी सिंह ३० वर्षे सेवा अवधि पूरा गरेर चैत १० गते अनिवार्य अवकाशमा जाँदैछन्। सिंहसँगै उनका ब्याची एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी, दिवेश लोहनीसहित तथा केही डीआईजीहरु चैत १० गते अनिवार्य अवकाशमा जाँदैछन्।
सिंह अवकाशमा गएपछि सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार एआईजीमा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यमध्ये १ जना नेपाल प्रहरीको ३०औं आईजी बन्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।