काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन्। मुख्यमन्त्री कार्कीले ओखलढुंगाको रुम्जाटारमा आइतबार आयोजित कार्यक्रममा कोशी सर्वस्वीकार्य नाम भएकाले तत्काल प्रदेशको नाम परिवर्तन नहुने जिकिर गरे।
लामो समय नामविहीन प्रदेशमा आफू मुख्यमन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले कोशी नाम पारित गरेको बताउँदै उनले तत्काल नाम संशोधनका विषयमा छलफलसमेत नहुने उल्लेख गरे। नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न उनले आग्रह गरे।
‘कोशी सबैको सभ्यता र पहिचानसँग मात्रै होइन, मानव जीवनसँग पनि जोडिएको नाम हो। ९० प्रतिशतभन्दा बढी सांसदले पारित गरिसकेको यो नाम अब परिवर्तन त होइन, नामका विषयमा छलफल समेत हुँदैन’, उनले भने, ‘हिजो नाम भएन भन्नेहरु आज नाम मन परेन भनेर आन्दोलन गर्दैछन्, यस्तो बाटोमा हिँडेर गन्तव्यमा पुगिन्न। बरु प्रदेश कसरी समृद्ध बन्छ त्यो सुझाव दिनुस्।’
देशमा राजनीतिक स्थायित्व नहुँदा नेपालीहरुले दुःख पाएको बताउँदै उनले अब राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा लाग्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।