काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुमाइसकेको दाबी गरेका छन्।
राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको उनको जिकिर थियो।
इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव बैद्यले ओलीलाई खत्तम पार्छू भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री प्रचण्डले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाए।
उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरु ‘मरेको लास’जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
उनले यो सत्ता र यसका अवयवहरुलाई पूरै फ्याँक्नुपर्ने बताए। उनले भने, ‘यो सत्ता र यसका अवयवहरुलाई पूरै फ्याँक्नु पर्छ। कार्यपालिका पनि असफल, न्यायपालिका पनि असफल, व्यवस्थापिका पनि असफल भएको देख्यौं नि हामीले। सबै असफल छन्।’
उनले कांग्रेस असफल नै भएको टिप्पणी गर्दै पुरानो सत्ता र व्यवस्थालाई चलाउन भनेर कम्युनिष्ट आन्दोलनका नेताहरु नै गद्दार रहेको दाबी गरे।
उनले भने, ‘कांग्रेस त असफल नै हो। पुरानो सत्ता र व्यवस्थालाई चलाउन भनेर कम्युनिष्ट आन्दोलनको नेताहरु भनौ कि गद्दारहरु भनौं। थाम्न भनेर गए। त्यो पुरानो व्यवस्थालाई काँध थाप्न थाले। काँध थापेर के गर्ने त्यो गनाएर बसेको लास जस्तैलाई काँध थापेर के गर्ने? सक्ने अवस्थामा छैन अव त्यो काँध थापेर। यो व्यवस्था सिद्धिएर जाने प्रक्रियामा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।