काठमाडौं– सभामुख देवराज घिमिरेसँग आइतबार बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले भेट गरेका छन्।
सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतका विषयमा छलफल भएको छ।
भेटमा सभामुख घिमिरेले नेपाल र बेलायत पुराना मित्र भएको बताउँदै कुटनीतिक सम्बन्ध स्थापना भएको २०० औं वर्षगाँठ भव्यरुपमा मनाउन बेलायतले गरेको तयारीप्रति खुसी व्यक्त गरे।
उनले बेलायतबाट नेपालको विकासका लागि ठूल्ठूला सहयोग भएको बताउँदै आगामी दिनमा निरन्तरता पाउने विश्वास व्यक्त गरे।
सभामुख घिमिरेले कोभिड १९ महामारीमा बेलायती संसद्मा नेपाललाई सहयोग गर्नेबारे कुरा उठेको स्मरण गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, जनस्रोतका क्षेत्रमा लगानीको वातावरण बनाउन ध्यानाकर्षण गराए।
भेटमा सांसद शर्माले सभामुख घिमिरेलाई अनुकूल समयमा बेलायत भ्रमणका लागि निम्तो दिँदै औपचारिक पत्र पठाउने जानकारी दिए। उनले नेपाल र बेलायतबीच २ सय वर्ष पुरानो सम्बन्ध रहेको बताउँदै आगामी दिनमा सम्बन्ध झन् बलियो हुने उल्लेख गरे।
सांसद शर्माले बेलायतमा गोर्खा समस्या समाधानमा आफूले पटक–पटक कुरा उठाएको बताउँदै मुद्दा पुनरवलोकनको काम भइरहेको जानकारी दिए।
बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्षसमेत रहेका शर्मा नेपालमा सञ्चालित विकास परियोजनाको अनुगमन गर्न काठमाडौं आएका हुन्। उनको यो छैटौं नेपाल भ्रमण हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।