काठमाडौं– त्रिभुवन विश्वविद्यालयअन्तर्गतका दर्जन बढी क्याम्पसहरुमा स्ववियु निर्वाचन स्थगित भएको छ। काठमाडौं उपत्यकाका ७ तथा उपत्यका बाहिरका दर्जन बढी क्याम्पसहरुमा स्ववियु निर्वाचन स्थगित भएको हो।
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय निर्देशक पशुपति अधिकारीका अनुसार उपत्यका भित्रका रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस, त्रिचन्द्र क्याम्पस, नेपाल कमर्स क्याम्पस, आयुर्वेदिक क्याम्पस कीर्तिपुर लगायतका ७ वटा क्याम्पसमा निर्वाचन स्थगित छ। उपत्यका बाहिरका पृथ्वी नारायाण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज लगायतका १३ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको अधिकारीले जानकारी दिए।
आज (आइतबार) मतदान हुन नसकेका क्याम्पसहरुमा मतदानका लागि छिट्टै अर्को मितिमा निर्वाचन हुने अधिकारीको भनाइ छ। उनका अनुसार केही क्याम्पसमा चैत ८ गते त केही क्याम्पसमा चैत ९ गते चुनाव गर्ने भनेर मिति तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।