गोरखा– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासको लागि बुढिगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनुपर्ने बताएका छन्।
गोरखा उद्योग वाणिज्य संघको ४७औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले गोरखा जिल्लाको आर्थिक समृद्धि र विकासमा रणनीतिक भूमिका रहेका २ ठूला आयोजनाहरु गोरखकाली रबर उद्योग पुनः संचालन र बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल सुरु गर्नुपर्ने बताएका हुन्।
‘नेपाल सरकारबाट सहजीकरण र सहयोग भएमा गोरखकाली रबर उद्योग संचालन गर्न मैले पनि पहल गर्नेछु। यसलाई तुरुन्त अगाडि बढाउन सकिन्छ,’ ढकालले भने, ‘यसका साथै बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल शुरु गर्न आग्रह गर्न चाहन्छु।’
ढकालले मनकामना आउने पर्यटकलाई गोरखा दरबार र यहाँका अन्य पर्यटकीयस्थलहरुसम्म ल्याउन पहल गर्नुपर्ने र यहाँका सुन्तलालगायत स्थानीय उत्पादनको बजारीकरण गर्न आवश्यक रहेको बताए।
कोरोना भाइरस महामारीपछि आन्तरिक पर्यटनले अर्थतन्त्र चलायमान बनाउन ठूलो सहयोग गरेको बताउँदै उनले गोरखामा पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको र आफूले यहाँको पुर्वाधार विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
‘नेपाल एकीकरण गोरखाबाट सुरू भएर सफल भयो। अब आर्थिक रूपमा पनि गोरखालाई महत्त्वपूर्ण जिल्लाको रूपमा बिकास गर्नुपर्छ,’ ढकालले भने, ‘अहिले मुलुकको प्रधानमन्त्री यही जिल्लाकै (जनप्रतिनिधि) हुनुहुन्छ। महत्त्वपूर्ण र धेरै विकास बजेट भएको मन्त्रालयमा पनि यही जिल्लाकै उपप्रधान तथा भौतिक पूर्वाधानमन्त्री हुनुहुन्छ। तपाईं–हामी सबै पहल गरौँ। नेपाल एकीकरणको सुरु गोरखा जिल्लाबाट भएजस्तै अब मुलुकको आर्थिक सम्मृद्धि र विकासको अभियान पनि यहीबाट शुरु गरौँ।’
ढकालले ब्याजकै विषयलाई लिएर बैंकका कर्मचारीमाथि कुटपिट गर्ने जस्ता गलत क्रियाकलापहरु सुरु भएको र यो काम अत्यन्त निन्दनीय रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।