प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का साथ कांग्रेस सभापति शेरबहादुर देउवा (फाइल तस्बिर) काठमाडौं– नेपाली कांग्रेसले आज (आइतबार)को प्रतिनिधि सभा बैठकअघि सत्ता पक्ष बन्ने निर्णय गर्ने भएको छ। पार्टी संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उक्त निर्णय लिइने कांग्रेसका एक नेताले बताए।
एमालेलगायतका दलले प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि विश्वातसको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बसिरहेको छ। गठबन्धन फेरिएसँगै एमालेले प्रतिपक्षको दाबी गरेपछि कांग्रेस सत्ता पक्ष बन्न लागेको हो।
कांग्रेसले सरकारमा सहभागी भएपछि मात्रै सत्ता पक्ष बन्ने अडान लिएपछि संसद् बैठक लामो समयका लागि सारिएको थियो।
आइतबारको संसद् बैठकलाई कांग्रेस र एमालेबीच प्रतिपक्षमा बस्ने विषयले प्रभावित पार्ने देखिएको थियो। एमालेले संसद् सचिवालयलाई आफू प्रतिपक्षमा बस्ने औपचारिक जानकारी दिएपछि कांग्रेसले सरकारमा जानुअघि नै सत्ता पक्ष बन्ने निर्णय गर्न लागथेको हो।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ। त्यसअघि कांग्रेस कार्यसम्पादन समितिको बैठक संघीय संसद् भवनको शंकर हलमा बिहान १०:३० बजे बस्ने जनाइएको छ।
बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय समेत लिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।