काठमाडौंको पब्लिक युथ क्याम्पसमा मतदानका लागि लामबद्ध विद्यार्थीहरु (तस्बिर: रासस)
काठमाडौं– करिब १४ वर्षपछि आज (आइतबार) त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा मतदान सुरु भएको छ।
आज (आइतबार) त्रिविअन्तर्गत देशभरका ६० आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ। धेरै क्याम्पसहरुमा बिहान ८ बजेदेखि मतदान सुरु भएको छ। अपराह्न ४ बजेसम्म मतदान हुने त्रिविको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए।
निर्वाचनका लागि शुक्रबारदेखि नै मौन अवधि समेत सुरु भएको थियो। मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल समेत लैजानका लागि निषेध गरिएको छ।
निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको हो।
स्ववियु अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुँदैछन्। उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने भएका छन्।
क्याम्पसहरुमा २०० विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, २०१ देखि १ हजारसम्म विद्यार्थी भएमा १३ जनाको कार्यसमिति, १ हजार १ देखि ३ हजारसम्म विद्यार्थी भएमा १९ जनाको कार्यसमिति र ३ हजार १ देखि ५ हजारसम्म विद्यार्थी भएमा २१ सदस्यीय कार्यसमिति हुने व्यवस्था छ।
केही क्याम्पसमा भने निर्वाचन अघि नै स्ववियु कार्यसमिति गठन भएको छ। क्याम्पसमा रहेका विद्यार्थी संगठनहरुबीच सहमतिमा सभापतिदेखि सदस्यसम्मका पदहरुमा भागबन्डा मिलाएर निर्विरोध नेतृत्व चयन गरिएको हो।
केही क्याम्पसहरुमा भने विवादका कारण स्ववियु निर्वाचनको प्रक्रिया अघि बढ्न सकेको छैन। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने विद्युतीय मतदानको व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।