काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले हालै संसद् सचिवालयमा दर्ता गराएको सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक एक पक्षीय भएको बताएको छ।
शनिबार बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त विधेयक एकपक्षीय भएको बताए।
साथै उनले उक्त विधेयकमा राप्रपाले फरक मत राख्ने जानकारी दिए। विधेयक एक पक्षीय र विद्रोही पक्षका लागि मात्र भएको आरोप लगाए। उनले द्वन्द्वको अर्को पक्षको बारेमा सम्बोधन नभएकाले राप्रपाले यो विधेयकमा संसद्मा आफ्नो धारणा राख्ने उनको भनाइ छ।
उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक सम्बन्धी फरक मत राख्नेछ। यो विधेयक एक पक्षीय छ। खासगरी विद्रोही पक्षको लागि मात्रै छ। द्वन्द्वको अर्को पक्ष र तेस्रो पक्ष आम पीडित जनाको पक्षमा सम्बोधन छैन। यसमा हामी संसद्मा व्यापक छलफल गर्नेछौं।’
यस्तै आज बसेको बैठकले संघीय र प्रदेश सांसदहरुलाई संसद्मा उपस्थिति जनाउनेबारेमा प्रशिक्षण दिने निर्णय पनि गरेको छ। बैठकले संसदीय दलको विधान पारित गरेको र विधान अनुसार संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको अध्यक्ष लिङ्देनले जानकारी दिए। सरकारले कृषि मलमा कटौती गरेको अनुदानकाविरुद्धमा बैठकले सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।