काठमाडौं– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकार नै स्ववियु निर्वाचन बिथोल्न लागेको आरोप लगाएको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले सरकारबाट नै विश्वविद्यालययका कर्मचारी र पदाधिकारी समेत असुरक्षित रहेको आरोप लगाएको छ।
चैत ५ र ८ गते हुन गइरहेको स्ववियुको निर्वाचनको तयारीमा जुटिरहेको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस र सामुदायिक तथा नीजि क्याम्पसका साथै नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण क्याम्पसहरुमा विश्वविद्यालयहरुको निर्वाचन निर्देशिका अनुरुप निर्वाचन सम्पन्न गर्न अनेरास्ववियुले अपिल गरेको छ।
अनेरास्ववियुले विज्ञप्तिमार्फत निर्दलीय पञ्चायती व्यवस्थामा समेत निर्वाध रुपमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने गरेको उल्लेख गर्दै यसपटक निर्वाचनमा सत्ताधारी विद्यार्थी संगठनहरुले विभिन्न क्याम्पस र विश्वविद्यालयहरुमा आगजनी, तोडफोड र तालाबन्दी गरिरहेको आरोप लगाएको छ।
सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनबाट सुरक्षा चुनौती थपिएको जिकिर गर्दै अनेरास्ववियुले विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री र सत्ता गठबन्धनका शीर्ष नेताबाट समेत विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुखहरुलाई धम्की दिने काम भएको भन्दै आक्रोश व्यक्त गरेको छ।
सुरक्षा प्रदान गराउनुपर्ने निकायबाट यथेष्ट सहयोग नहुँदा १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन हुन नदिन वर्तमान सरकार उद्दत रहेको विज्ञप्तिमा जनाइएको छ।
देशका पृथ्वीनारायण क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस, आरआर क्याम्पस, त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पस, वाल्मीकी क्याम्पस, विरेन्द्र बहुमुखी क्याम्पस, अमृत साइन्स क्याम्पस, पश्चिमाञ्चल क्याम्पस, पोखरा वन क्याम्पस, सिद्धनाथ साइन्स क्याम्पस, चितवन ई. कलेज लगायत आंगिक क्याम्पसहरु र अत्यधिक विद्यार्थी अध्ययन गर्ने सामुदायिक क्याम्पसहरुमा सत्ताधारी संघ/संगठनहरु अनेकौं बहनाबाजी गर्दै निर्वाचन टार्ने अभियानमा दौडिरहेको आरोप समेत अनेरास्ववियुले लगाएको छ।
अनेरास्ववियुले रोकिएका क्याम्पसहरूमा तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन समेत आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।