तस्बिर : निमेषजंग राई/नेपाल लाइभ
काठमाडौं– नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन्।
शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। यादवले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए।
उनले शान्ति प्रक्रियाका कामहरु निष्कर्षमा पुर्याउन बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पुर्याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने बताए।
‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवर्द्धन गर्नमा मेरो इमान्दारिताकासाथ भूमिका रहनेछ। मुलुक समृद्ध रुपमा अघि बढोस्। शान्ति प्रक्रियाका कामहरु निष्कर्षमा पुर्याउन बाँकी छ, त्यसलाई निष्कर्षमा पुर्याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ’, यादवले भने, ‘हाम्रो क्षेत्रका जनताकै मतका कारण यहाँसम्म आइपुगेको हो। उहाँहरुसहित देशका सबै जनतालाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्छु।’
नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउन भूमिका खेल्ने जनता र सांसदहरुप्रति धन्यवाद प्रकट गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।