काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संवैधानिक दायित्व सम्झेर उपराष्ट्रपतिको निर्वाचनमा मत व्यक्त गर्ने निर्णय गरेको बताएका छन्। उपराष्ट्रपतिमा मत दिन संसद् भवन नयाँ बानेश्वर पुगेका उनले संविधानअनुसार निर्वाचित भएर आएपछि जनताको प्रतिनिधिको रुपमा मत दिने संवैधानिक दायित्व हुने र त्यहीअनुसार मत हाल्ने निर्णय छलफलपछि गरेको बताए।
‘हाम्रो पुरानै कुरा उपराष्ट्रपति नयाँ बनाउनेभन्दा राष्ट्रिय सभा अध्यक्षलाई नै उक्त जिम्मेबारी दिन उपयुक्त हुन्छ भन्ने हो,’ श्रेष्ठले भने, ‘तर निर्वाचन नै भइरहेकाले हामीले चितवानमा छलफल गर्यौँ। हाम्रो संवैधानिक दायित्व पनि छ । हामीले मौन बस्न मिल्दैन भनेर निर्णय गरेका हौँ।’
उनले राष्टिय स्वतन्त्र पार्टी एमाले वा सत्ता गठबन्धन कसैको कित्तामा नगएको दाबी गरे। ‘हामी कसैसँग पनि छैनौँ। एउटालाई छोडेको र अर्कोसँग नजिक भएको हैन, ’ उनले भने, ‘अहिलेसम्म हामीले सरकारलाई प्राथमिकतामा राखेका छैनौँ। जनताको आवाज संसद्मा पुर्याउने हो।’
सम्मानजनक हिस्सेदारी भए जाने भन्ने छ रे नि? भन्ने पत्रकारको प्रश्नमा उनले यसबारे पार्टीमा हालसम्म कुनै छलफल नभएको बताए। ‘हामीले यस बारेमा कुनै छलफल गरेका छैनौँ,’ उनले भने, ‘विश्वासको मत लिएपछि सरकारले कस्तो लय लिन्छ। हामी इच्छुक हैन। परिस्थिति के सिर्जना हुन्छ त्यहीअनुसार निर्णय हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।