काठमाडौं– संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति चयनका मतदान सुरु भएको छ। संघीय संसद् भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अहिले बिहान १० बजेदेखि मतदान सुरु भएको हो।
उपराष्ट्रपति चयनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) तथा प्रदेश सभाका सदस्यहरुले मतदान गर्न पाउँछन्।
निर्वाचनमा संघीय संसद्का ३३२ र ७ वटै प्रदेशसभाका ५५० सदस्य मतदाता छन्। मतदानका लागि मतदाता बिहान ९ बजेदेखि नै मतदान केन्द्र अगाडि लाइनमा लागेका थिए। उम्मेदवारहरू पनि मतदान केन्द्रमा आइसकेका छन्।
मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
उपराष्ट्रपतिको प्रतिस्पर्धामा ४ जना उम्मेदवार छन्। जसमध्ये १ जनाले भने आफ्नो उम्मेदवार फिर्ता लिएको घोषणा गरेका छन्।
१० दलसहितको सत्ता गठबन्धनबाट ३ जनाको उम्मेदवारी छ। जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी छ। यद्यपि प्रमिला कुमारी यादवले पार्टीका नेता रामसहाय प्रसादलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन्।
नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार छन्।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते सम्पन्न भएको थियो। राष्ट्रपतिमा हालको सत्तारुढ गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।