काठमाडौं– अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६ औं महासभामा सहभागी भई सभामुख देवराज घिमिरे आज स्वदेश फर्किएका छन्।
उनी आज साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्। उनीसँगै नेपालबाट गएको ९ सदस्यीय प्रतिनिधि मण्डल पनि स्वदेश फर्किएको छ।
स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले महासभामा नेपालबाट ठूला मुलुकले साना मुलुकलाई हेप्ने र पक्षपात गर्ने कुराहरुमा विशेष जोड दिएको बताए।
उनले जातीय, वर्गीय कुराहरुलाई नयाँ ढंगबाट लैजाने कुरामा आफूहरुले आवाज उठाएको जानकारी गराए। नेपालको असंलग्न परराष्ट्रनीतिका बारेमा पनि जानकारी गराएको उनले बताए। उनले महासभामा अस्ट्रेलियाका सभामुखसँग दुई देशबीचको सम्बन्धका बारेमा विशेष छलफल भएको जानकारी दिए। यस्तै बहराइनका सभामुखसँग पनि आफ्नो भेट भएको र भेटमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल गरेको बताए।
त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महासभामा शान्तिपूर्ण सहअस्तित्व र समाज समावेशी गर्ने विषयलाई बढावा दिने कुरा आफूले उठाएको बताए। उनले महासभामा जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई पनि विशेष रुपमा उठाएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।