काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो पासपोर्टमाथिको अनुसन्धान सकिएको छ। जिल्ला प्रहरी परिसर काठामाडौंले अनुसन्धान सकेर फाइल जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको हो।
जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता अच्युतमणि नेउपानले प्रहरीले अनुसन्धान सकेर फाइल पठाएको पुष्टि गरे।
‘प्रहरीले फाइल पठाएको छ। अहिले हामी अध्ययनकै क्रममा छौं। अध्ययन गरिसकेपछि के हुने भन्ने टुंगा लाग्छ’, प्रवक्ता नेउपानेले नेपाल लाइभसँग भने।
लामिछानेले नागरिकता २०५० साल फागुन १० गते काठमाडौंबाट लिएका थिए। २०७० फागुन ११ गते उनले अमेरिकी नागरिकता लिएका थिए। २०७१ जेठ २१ मा उनी नेपाल आए।
अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नागरिकताकै आधारमा २०७३ जेठ १३ गते नेपाली राहदानी लिएको बताइएको छ भने अर्कोतर्फ उनले अमेरिकी पासपोर्ट र नेपाली पासपोर्ट एकसाथ प्रयोगमा ल्याएको दाबी गरिएको छ। करिब ३ वर्षसम्म रविले अमेरिका र नेपालको दोहोरो पासपोर्ट प्रयोगमा ल्याएको बताइएको छ। सोहीबारे प्रहरीले अनुसन्धान सकेर फाइल बुझाएको हो।
यसअघि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले पुनः नागरिकता लिनुपर्नेदेखि मन्त्री र सांसद पद नै खारेज हुने फैसला सुनाएको थियो।
सम्बन्धित समाचार :
रविको दोहोरो पासपोर्टमाथि अनुसन्धान अघि बढ्यो
किन अघि बढ्न सकेन रविको दोहोरो पासपोर्टमाथिको अनुसन्धान?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।