काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिने भएका छन्। त्यसका लागि बिहीबार संसद् सचिवालयमा पत्र दर्ता भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
'चैत ६ गतेको कार्यसूचीमा विश्वासको मत लिने प्रस्ताव राख्न अनुरोधसहित पत्र दर्ता भएको छ', उनले भने।
गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए। तर, राष्ट्रपति निर्वाचनमा तत्कालीन गठबन्धन भत्किएसँगै राप्रपा र एमालेले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए।
संविधान अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। सोही अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।
पुस २६ मा विश्वासको मत लिँदा २६८ मत पाएका थिए। प्रस्तावको विपक्षमा २ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।