काठमाडौं– नेकपा (एमाले)का उपमहासचिव एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीब्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।
भूराजनीतिक इस्यूहरूका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको उल्लेख गर्दै उनले अब सरकारले त्यसलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्ने बताए।
बिहीबार काठमाडौंमा आयोजित ‘चाइना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो परियोजनालाई अघि बढाउन लागि सरकारले अब चीनसँग फण्डिङ मोडालिटीको बारेमा तत्काल छलफल गर्नुपर्ने बताए।
यो परियोजनाबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनुपर्ने उनको भनाइ थियो। उपमहासचिव ज्ञवालीले चीनले बाह्य मुलुकसँग हस्तक्षेप नगर्ने कुरालाई स्पष्ट पार्दै आएको उल्लेख गर्दै त्यसप्रति नेपाल गम्भीर बन्नुपर्ने बताए। उनले नेपालले विकासमा फड्को मार्ने हो भने पनि सो परियोजनाको कामलाई छिटो अघि बढाउन उपयुक्त हुने धारणा राखे।
‘बीआरआई अघि बढ्न नसक्नुमा भूराजनीतिक इस्यूहरूले पनि कहिलेकाहीँ काम गरेको मैले देखेको छु। त्यसो भएर बीआरआईबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनु पर्छ भन्ने मलाई लाग्दछ’, ज्ञवालीले भने, ‘हामीले जतिछिटो यी कनेक्टिभिटीमा हाम्रा प्रस्तावहरूलाई कार्यान्वयनमा ल्याउन सक्छौं, त्यति छिटो नेपाल त्यसबाट लाभान्वित हुन सक्छ। त्यसो हुनाले सरकारलाई मेरो आग्रह पनि छ–प्रस्तावित हाम्रा जतिपनि योजनाहरू छन। तिनको कम्तिमा आधारभूत डकुमेन्टहरू सेयर गर्ने, पे; गर्ने, अव फण्डिङ मोडालिटीको विषयमा पनि चीनसँग बसेर कुरा गर्ने बेला भयो भन्ने मलाई लाग्दछ।’
उपमहासचिव ज्ञवालीले नेपालको विकासका अपेक्षाहरू पूरा गर्न पनि बीआरआई परियोजनाले महत्त्वपूर्ण योगदान पुर्याउने तर्क गरे।
कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपालको विकासमा बीआरआई परियोजना महत्त्वपूर्ण अवसर हुने बताए। उनले नेपालको पूर्वाधार विकासमा चीनले सहयोगका हातहरू थप अघि बढाउन चाहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।