काठमाडौं– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकार चीनको बेल्ट एण्ड रोड (बीआरआई) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन दृढ रहेको बताएका छन्।
सो परियोजनाको कार्यान्वयनमा केही ढिलाई भएको स्वीकार गर्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन नेपाल सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे।
बिहीबार काठमाडौंमा आयोजित ‘चाइना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो परियोजनाको सफल र शीघ्र कार्यान्वयन नेपालको हितमा रहेको उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्न आफू लागिपर्ने प्रतिवद्धता जनाए।
उपप्रधानमन्त्री श्रेष्ठले परियोजना अन्तर्गत नेपालले ठूला पूर्वाधारको विकासमा सहयोग र सहकार्यको अपेक्षा गरेको पनि स्पष्ट पारे। यसका लागि विभिन्न मोडालिटीका विषयमा दुई मुलुकबीच छलफल भइरहेको स्मरण गराउँदै उनले नेपालले त्यसलाई ठोस निष्कर्षमा पुर्याउन चाहेको समेत बताए।
उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपाल एक चीन नीतिप्रति पूर्ण रुपमा प्रतिवद्ध रहेको कुरा दोहोर्याउन चाहन्छु। पछिल्लो समयमा विश्व राजनीतिमा भइरहेको अभूतपूर्व परिघटनाहरूलाई हामीले नजिकबाट अध्ययन गरिरहेका छौं। नयाँ विश्व व्यवस्थातर्फ उन्मुख अहिलेको समय अति नै गम्भीर रहेको मैले ठानेको छु। नेपालप्रति चीनले व्यक्त गरेको सदभाव र हाम्रो भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताप्रति चीनले गरेको सम्मानले नेपाल–चीन सम्बन्ध पारस्पारिक, मैत्रीपूर्ण र सुमधुर रहेको पुष्टि गर्दछ।’
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल चिनियाँ ऋणको पासोमा परेको भन्ने भ्रमात्मक प्रचारबाट प्रभावित नभएको स्पष्टीकरण दिए। उनले चीनबाट नेपालको ठूला पूर्वाधार निर्माणमा देखिएको आर्थिक अभाव पूरा हुने अपेक्षा गरिएको बताए।
मुलुकको विकासमा प्रतिकूल असर पर्ने वा आर्थिक संकट बढाउने कुनै पनि ऋणको पासोमा नेपाल नपर्ने उपप्रधानमन्त्री श्रेष्ठको स्पष्टीकरण थियो।
‘पूर्वाधार निर्माणमा नेपालमा अहिले रहेका फाइनान्सियल ग्याप पूरा गर्न छिमेकी चीनको भूमिकाप्रति हामी आशावादी छौं। चिनियाँ ऋणको पासोमा पर्न लागेको भन्ने चर्चाका सन्दर्भमा पनि हामी स्पष्ट नै छौं। हामी नेपालको विकासलाई प्रतिकूल असर पार्ने वा आर्थिक संकट बढाउने कुनै पनि ऋणको पासोमा पर्न चाहने छैनौं, पर्ने छैनौं’, उनले भने, ‘साथसाथै यस प्रकारको कुनै भ्रमात्मक प्रचारबाट पनि हामी प्रभावित हुने छैनौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।