काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप लिग २ अन्तर्गत अन्तिम शृङ्खलाको अन्तिम खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर नेपालले पहिले फिल्डिङको निम्तो पाएको हो। टस जितेको यूएईका कप्तान मोहम्मद वासिमले पहिले ब्याटिङ गर्ने निर्णय गरे।
नेपालले टोलीमा एउटा परिवर्तन गरेको छ। तीव्र गतिका बलर करण केसीलाई रेस्ट दिइएको छ। उनको स्थानमा गुल्सन झालाई मौका दिइएको छ।
नेपालको प्लेइङ ११:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।
यूएईसँग जित निकाल्न सके नेपाल जिम्बाब्वेमा हुने ‘विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर’ मा सिधै छनोट हुनेछ।
लिग २ को अन्तिम शृङ्खलाअन्तर्गतका सबै खेलहरुमा अविजित रहेको नेपाल सोही नतिजा दोहोर्याउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।
दुई देश बीचको खेल बिहीबार बिहान ९:३० बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ।
लिग २ को ३ शीर्ष टोली ३ महिनापछि ‘विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर’मा छनोट हुनेछन्। स्कटल्यान्ड ५० अंक र ओमन ४४ अंकसहित शीर्ष दुई स्थानमा रहँदै विश्वकप क्वालिफायरका लागि छनोट भइसकेका छन्।
तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अंक छ। चौथो स्थानमा रहेको नेपालको ३८ अंक छ। बिहीबारको खेलमा यूएईसँग जित हात पारे नेपालले २ अंक पाउनेछ।
यूएई ३३ अंकका साथ छैटौं स्थानमा छ। ३५ अंकसहित अमेरिका पाँचौ स्थानमा छ। अमेरिकाले लिग २ का सबै खेल खेलिसकेको छ। यूएई र नेपाल बिहीबार अन्तिम खेल खेल्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।