काठमाडौं– सतारुढ दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवटारमा सुरु भएको छ।
उपराष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीले लिने विश्वासको मत र मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गर्न बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आउँदो शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनमा सतारुढ दलबाटै दुईवटा उम्मेदवारी परेको विषयमा पनि बैठकमा छलफल हुने र साझा उम्मेदवार तय गर्ने प्रयास गरिने नेताहरूले बताएका छन्।
नेपाली कांग्रेसले बुधबार उपराष्ट्रपतिमा जसपाका अधिकारिक उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरिसकेको छ।
सतारुढ दलहरुबाट जसपाका यादवसहित जनमत पार्टीकी ममता झाको समेत उम्मेदवारी परेको छ। जनमत पार्टीले मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै उम्मेदवारी दिएको थियो। त्यसपछि उसले लोसपा र नागरिक उन्मुक्तिसँग बेग्लै तालमेल गरेको छ।
उपराष्ट्रपति निर्वाचनलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मत लिने र मन्त्रिपरिषद् गर्ने विषयमा छलफल हुनेछ। प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।