काठमाडौं- राप्रपा उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ। बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मत नदिने, तटस्थ बस्ने निर्णय गरेको हो।
यसअघि गत फागुन २५ मा बसेको राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपा तटस्थ बसेको थियो। उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते हुँदैछ।
बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय र अनुचित भएको निष्कर्ष निकालेको छ।
‘यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपुर्तिको व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ’, बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ।
रासायनिक मल सम्बन्धमा पार्टीको ७७ वटै जिल्ला समितिले एक हप्ताभित्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय गरिएको छ।
‘हाल बैंकहरुबाट ब्याज बढ्न थालेकाले साना उद्योगी, व्यवसायी, किसान लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा ठूलो र नकारात्मक असर परिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुसंग उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वभाविक रुपमा बढेको ब्याज घटाउन र देशमा वित्तीय सन्तुलन कायम राख्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ’, राप्रपाको निर्णयमा भनिएको छ, ‘साथै बैंकको ब्याजदरकै विषयमा आन्दोलनरत व्यवसायीहरुको माग तत्काल सम्बोधनका लागि सरकारसंग राप्रपा बैठकले माग गरेको छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।