कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक (फाइल तस्बिर)
काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक आज (बुधबार) बिहान ११ बजे पार्टी मुख्यालय सानेपामा बस्ने जनाइएको छ।
बैठकमा उपराष्ट्रपति निर्वाचनको विषयमा छलफल हुने जनाइएको छ। राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् भने उपराष्ट्रपति चयनका लागि चैत ३ गते निर्वाचन हुँदैछ।
उपराष्ट्रपति पदका लागि सत्ता गठबन्धनबाटै ३ जना उम्मेदवार छन्। गठबन्धनका दलहरुले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)लाई ‘समर्थन’ गर्ने भनिए पनि जसपाबाटै २ जनाको उम्मेदवारी परेको थियो। यद्यपि जसपा उम्मेदवार प्रमिला कुमारले पार्टीकै अर्का उम्मेदवार रामसहाय प्रसाद यादवलाई सहयोग गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।
गठबन्धनकै दल जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिकी उम्मेदवार छन्। नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ।
कांग्रेसको बैठकमा सरकारमा सहभागिताको विषयमा पनि छलफल हुने जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उपराष्ट्रपतिको निर्वाचनपछि विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिएपछि मात्रै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ।
राष्ट्रपति निर्वाचनलाई लिएर नयाँ राजनीतिक समीकरण निर्माण हुँदा सत्तामा फर्किएको कांग्रेसले कसको नेतृत्वमा सरकारमा जाने भनेर निर्णय गरिसकेको छैन। यद्यपि नेताहरुबीच भने सरकारमा पार्टीको नेतृत्व गर्ने विषयमा छलफल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।