काठमाडौं– चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार निषेधको अवधि लागू भएको छ। निर्वाचन आयोगले मंगलबार राति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि लागू भएको जनाएको छ।
मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् फागुन ३० गते, राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो।
निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ।
उक्त आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन्।
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ।
साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ।
उपराष्ट्रपतिका लागि जसपाबाट रामसहाय प्रसाद यादव, जनमत पार्टीबाट ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्य प्रतिस्पर्धी छन्।
यसअघि जसपाबाटै प्रमिला कुमारीको पनि उम्मेदवारी परेको थियो। उनले यादवलाई समर्थन गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।