काठमाडौं– आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावलाई लिएर नेपाल विद्यार्थी संघमा पुनः विवाद सिर्जना भएको छ।
स्ववियु निर्वाचनका लागि तीनवटा विद्यार्थी संगठन नेविसंघ(संस्थापन) पक्ष,अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूबीच भएको तालमेलका विषयमा नेविसंघ संस्थापन इतर पक्षले विरोध जनाएको छ।
वाम लोकतान्त्रिक संयुक्त प्यानलले नेपाल ल क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)का विष्णु ढुंगेललाई आधिकारिक सभापतिको उम्मेदवार बनाएको छ।
उक्त क्याम्पसमा नेविसंघबाट दुईवटा समूहले दल दर्ता गरेका थिए। मंगलबार तीनवटै विद्यार्थी संगठनका अध्यक्षले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विष्णु ढुंगेलको प्यानललाई आधिकारिकता प्रदान गरेसँगै नेविसंघ इतर समूहले त्यसको विरोध जनाएको हो।
तीनवटै विद्यार्थी संगठनका अध्यक्षहरुद्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिम संयुक्त प्यानलका आधिकारिक उम्मेदवारका रुपमा ढुंगेललाई अगाडि सारिएको उल्लेख गर्दै संगठनका नाममा प्रत्यक्षतर्फ मनोनयन दर्ता भई फिर्ता नभएका उम्मेदवारहरुको उम्मेदवारीलाई वक्तव्यमार्फत् निस्कृय भएको जानकारी गराएपछि नेविसंघ संस्थापन इतर समूह आक्रमक बनेको हो।
नेविसंघ इतर समूहका नेता धर्मराज शाहीले निर्णय सच्याउन माग गरे। यसअघि नेपाल ल क्याम्पसको कोषाध्यक्ष मुकेश सेन्चुरीलाई दिने र शंकरदेवमा समाजवादीलाई कोषाध्यक्ष दिने सहमति भएको उनले दाबी गरे।
उनले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘यो अन्यायपूर्ण निर्णय भएको छ। नसच्च्याइए देश भरी हाम्रो समूहले नेविसंघका बाहेक गठबन्धनका अन्य उम्मेदवारलाई सहयोग गर्दैनौं। २४ घण्टाभित्र निर्णय फिर्ता हुनैपर्छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।