काठमाडौं– स्वतन्त्र विदयार्थी युनियन (स्ववियु)को निर्वाचनको विषयलाई लिएर कोटेश्वर बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच झडप भएको छ। नेविसंघको आक्रमणमा परि अनेरास्ववियु बागमती प्रदेशका सदस्य देवराज घिमिरे घाइते भएका छन्।
मंगलबार उम्मेदवार मनोनयनका क्रममा क्याम्पस हाताभित्र रहेका अनेरास्ववियु कोटेश्वर बहुमुखी क्याम्पसका नेता तथा अनेरास्ववियु बागमती प्रदेश कमिटी सदस्य देवराज घिमिरेमाथि नेविसंघले आक्रमण गरी घाइते बनाएको अनेरास्ववियुका महासचिव नरेस रोकायाले जानकारी दिए।
नेविसंघ कोटेश्वर क्याम्पसका इकाई सभापति सञ्जय बुढाथोकीको नेतृत्वमा आएको ४०/५० जना समूहले ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको र उक्त आक्रमणमा घिमिरे गम्भीर घाइते भएको अनेरास्ववियुले जनाएको छ।
अनेरास्ववियुले एक प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्न बुढाथोकी लगायत गिरोहलाई तत्काल कारबाही सरकारसँग मागसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।