काठमाडौं- सर्वोच्च अदालतले उपराष्ट्रपतिमा महिलालाई मात्र उम्मेदवार बनाउनुपर्ने माग गरिएको रिटलाई दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको छ।
राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति पदमा महिला नै हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले सोमबार सर्वोच्चमा अदालतमा रिट पेस गरेकी थिइन्। सो रिटको अध्ययनपछि रजिस्ट्रारले दर्ता नहुने आदेश गरेका हुन्।
मंगलबार सर्वोच्चले संविधानमा महिला नै हुनुपर्ने भनी तोकेर नभनेको अवस्था भएकाले दर्ता गरेर सुनुवाइ गर्नुपर्ने संवैधानिक आधार नदेखिएको भन्दै दरपिठ गरेको हो।
आइतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित केही दलले महिला उम्मेदवार हुनुपर्ने दावीसहित निर्वाचन कार्यालयमा उजुरी पनि गरेका थिए। तर निर्वाचन कार्यालयले उजुरी खारेज गर्दै उम्मेदवारी सदर गरेको थियो। निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले उनको उम्मेदवारी पनि कायम रहने निर्णय गरेका थिए।
उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीबाट दाबी विरोध परेको थियो। हाल उपराष्ट्रपतिका लागि जसपाबाट यादव, जनमत पार्टीबाट ममता झा र नेकपा एमालेवाट अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेका छन्। जसपाबाटै उम्मेदवारी दिएकी प्रमिलादेवीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।