काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन्। राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री, ३ पटकसम्म मन्त्री र ४ पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने उनको भनाइ थियो।
नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्याएर शपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौं राष्ट्रपति पाइसकेको हुने स्मरणसमेत गराए।
उनले सांसद, मन्त्री भइसकेकाहरुले मुलुकको आर्थिक रुपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगत रुपमै भए त्यो झनै राम्रो हुने धारणा राखे।
महामन्त्री शर्माले भने, ‘एक पटक एउटा मान्छे राष्ट्रपति बन्ने, पाउने, दोहोर्याएर शपथ ग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले शपथग्रहण गर्दै–गर्दा पाँचौं राष्ट्रपति नेपाल देशले पाइसकेको हुन्थ्यो। डा रामवरणले २ पटक, विद्या भण्डारीले २ पटक शपथ ग्रहण गर्नुभयो। र, अहिले आएर रामचन्द्र पौडेल हुनुभयो।’
यस्तै महामन्त्री शर्माले भ्यूटावर बनाउने कुरा, एकैपटक धेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले मुलुकलाई प्रतिफल दिनसक्ने आयोजनाहरुको छनोट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।