काठमाडौं– चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मंगलबार रातिबाट प्रचारप्रसार गर्न नपाइने भएको छ। निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो।
‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ।
आयोगले मंगलबार राति १२ बजेदेखि मतदानको दिन (चैत ३ गते) मतदान केन्द्र बन्द नभएसम्म उपराष्ट्रपति निर्वाचनलाई लिएर प्रचारप्रसार गर्न नपाइने बताएको छ।
‘...उपराष्ट्रपतिको निर्वाचनका लागि आज फागुन ३० गते राति १२ बजे पश्चात् मतदानको दिन चैत ३ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइन्छ,’ आयोगले विज्ञप्तिमार्फत् भनेको छ।
उपराष्ट्रपतिका लागि जसपाबाट रामसहाय प्रसाद यादव, जनमत पार्टीबाट ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्य प्रतिस्पर्धी छन्।
यसअघि जसपाबाटै प्रमिला कुमारीको पनि उम्मेदवारी परेको थियो। उनले यादवलाई समर्थन गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।