काठमाडौं– द्वन्द्वकालीन घटनालाई लिएर सर्वोच्च अदालतमा रिट दायर भएपछि एकठाउँमा आइपुगेका माओवादी धारका विभिन्न पार्टीहरुले आज (सोमबार) नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दैछन्।
हाल सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहित शान्ति प्रक्रियापछि माओवादीबाट विभाजित भएर बनेका विभिन्न पार्टीहरुले संक्रमणकालीन न्याय, शान्ति प्रक्रिया तथा द्वन्द्वकालीन घटनाका सन्दर्भमा छलफल गर्न लागेका हुन्।
छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने जनाइएको छ।
तत्कालीन सशस्त्र संघर्ष (माओवादी जनयुद्ध)का नेतृत्वकर्ता, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी फौजदारी मुद्दा चलाइनुपर्ने दाबीसहित सर्वोच्च अदालतमा रिट दायर भएको थियो।
द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्षबाट पीडित बनेकाहरुले दायर गरेको रिट सर्वोच्च अदालतको इजलासले दर्ता गर्न आदेश दिएपछि माओवादी धारका नेताहरु सशंकित बनेका छन्।
यसअघि गत २६ गते बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत् शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल तथा अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो। सोहीअनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् भने आज (मंगलबार) नागरिक अगुवाहरुसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ।
माओवादी धारका नेताहरुले विस्तृत् शान्ति सम्झौता र त्यसलाई आफ्नो अभिन्न अंग मानेको नेपालको संविधानले द्वन्द्वकालीन घटनाहरुको निरुपण गर्ने जिम्मेवारी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिएको भन्दै यसको अन्यत्र समाधान खोज्न नहुने बताउँदै आएका छन्।
माओवादी धारका पार्टीहरु माओवादी केन्द्र, क्रान्तिकारी-माओवादी, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, आम जनता पार्टी, नेपाल कम्युनिस्ट पार्टी बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी) र माओवादी कम्युनिस्ट पार्टी द्वन्द्वकालीन घटना, संक्रमणकालीन न्याय र शान्ति सम्झौतालाई लिएर साझा निष्कर्षमा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।