काठमाडौं– बिहे गरेर इङ्गल्याण्ड लैजान्छु भन्दै १५ लाख रुपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।
केटाको नामबाट फेक आइडी बनाएर एउटी युवतीलाई बिहे गरेर इङ्गल्याण्ड लैजाने प्रलोभन दिएर १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अन्जली विसुन्के पक्राउ परेकी हुन्।
पीडित युवतीसँग टिकटकमा फ्र्यांकलिन पल नामको आइडीबाट रिक्वेस्ट पाठाई साथी बनाएर बिसुन्केले आफू इङ्गल्याण्डको नागरिक भएको र नेपालमा आएर बिहे गरी इङगल्याण्ड लैजाने प्रलोभन दिएर वाट्सएप मार्फत च्याट गरी १५ लाख रुपैयाँ ठगी गरेकी थिइन्।
आफ्नो श्रीमतीको मृत्यु भइसकेकाले नेपाल आएर बिहे गरी उतै लैजाने भन्दै गिफ्ट पठाइदिने र त्यसका लागि पीडितको ठेगानासहितको विवरण मागेकी थिइन्। पीडितको नाममा इङ्गल्याण्डबाट जुत्ता, ब्याग, आईफोन, ७० हजार अमेरिकी डलर बराबरको सुनका गरगहनाहरु पठाइदिने भन्दै फोटो र भिडियो पठाएर पीडितलाई प्रलोभन दिलाइएको थियो।
उक्त सामग्रीसहितको लगेज पठाएको र कुरियरले सम्पर्क गर्छ भन्दै कुरिअरबाट पार्सल पाउनका लागि एन्टी मनि लण्ड्ररिङ सर्टिफिकेट, भन्सार शुल्क, डेलिभरी चार्ज, इन्सुरेन्स चार्ज, क्लिरियन्स चार्जजस्ता प्रयोजनका लागि रकम तिर्नुपर्छ भन्दै पीडितको नाममा रहेको बैंकबाट पटकपटक गरी १५ लाख २० हवार रकम पठाउन लगाई ठगी गरेको पाइएको प्रहरीले बताएको छ।
पीडितले आफू ठगीएको जाहेरी दिएपछि प्रहरीले सोमबार महालक्ष्मी नगरपालिका–१ बाटै बिसुन्केलाई पक्राउ गरेको हो। पक्राउ परेकी बिसुन्केमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।