काठमाडौं– नव नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्ने पहिलो निर्णय गरेका छन्।
सोमबार राष्ट्रपतिमा शपथ लिएका उनले कार्यभार सम्हालेलगत्तै निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदको जिम्मेवारी पनि दिएका हुन्।
‘राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। पौडेल फागुन २५ गते सत्ता गठबन्धनको उम्मेदवार हुँदै राष्ट्रपतिमा निर्वाचित भएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।