काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य (संघीय सांसद) पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति पौडेलले सोमबार सभामुख देवराज घिमिरेसमक्ष राजीनामा बुझाएका हुन्।
राष्ट्रपति पौडेल यही फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका थिए। राष्ट्रपतिमा निर्वाचित भएपछि नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधि सभा सदस्यको राजनीतिक पद स्वतः रिक्त हुने बेहोरा उल्लेख गर्दै पौडेलले राजीनामा दिएका हुन्।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसका नेता, पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै पौडेल निर्वाचित भएका थिए। मतदानमा पौडेलले ३३ हजार ८०२ र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए।
राष्ट्रपति पौडेललेको आज (सोमबार) पद तथा गोपनीयताको सपथ लिँदैछन्। नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।