काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपतिको कार्यालयले पौडेलको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको छ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन्।
नेपाली कांग्रेसका नेता, पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै पौडेल निर्वाचित भएका थिए। मतदानमा पौडेलले ३३ हजार ८०२ र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए।
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ। संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुने र २ पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेका व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने व्यवस्था संविधानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।