बहराइन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताएका छन्।
अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६औं महासभालाई बहराइनको राजधानी मनामामा आइतबार साँझ सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालका प्रमुख राजनीतिक शक्तिहरूको मौलिक पहलले नेपालमा एक दशक लामो सशस्त्र विद्रोहको अन्त्य भई शान्ति स्थापना भएको बताएका हुन्।
‘समावेशी सिद्धान्तलाई अङ्गीकार गर्दै सन् २०१५ मा जारी नेपालको संविधान कार्यान्वयनमा छ’, उनको भनाइ थियो, ‘यसैको परिणाम हाल हाम्रो सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेश सभामा ३६ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित हुन सफल भएका छन्।’
सभामुख घिमिरेले ‘असहिष्णुताविरुद्ध लड्दै शान्तिपूर्ण सहअस्तित्व र समावेशी समाजको प्रवर्द्धन’ विषयमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्बोधन गरेका हुन्।
सभामुखले नेपाल सदैव शान्ति र सहअस्तित्वको पक्षधर रहँदै आएको बताउँदै आफ्नो मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध नै शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गरे।
‘ठूला र शक्तिशाली राष्ट्रले साना र कमजोर राष्ट्रको अस्तित्वलाई स्वीकार र सहन गर्न नचाहँदाका दुष्परिणाम हामीले इतिहासका अनेक कालखण्डमा भोगिसकेका छौं’, उनले भने, ‘असंलग्न आन्दोलनको संस्थापक सदस्य रहेको नेपाल सबै राष्ट्रहरूले एकअर्काको अस्तित्वको सम्मान गर्नुपर्छ भन्नेमा सधैं अडिग छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।