काठमाडौं- राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेल कांग्रेसबाट अगल भएका छन्। गत फागुन २५ गते राष्ट्रपति निर्वाचित भएपछि उनले कांग्रेसका सबै जिम्मेवारी त्यागेका हुन्। उनले आज आइतबार राजीनामा दिएका हुन्।
‘नेपाली कांग्रेसका नेता, केन्द्रीय कार्यसमितिका सदस्य श्री रामचन्द्र पौडेल २०७९ फाल्गुण २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनु भएपछि नेपाली कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्य समेतबाट अलग हुनुभएको छ’, कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
पौडेलको राजीनामालाई सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आजैका मितिदेखि लागू हुने गरी स्वीकृत गरेका छन्।
नेपाली कांग्रेसमा लामो समयसम्म आबद्ध रहेर राष्ट्रियता, लोकतन्त्र र पार्टी संगठनमा पौडेलले पुर्याएको योगदानको कदर गर्दै देउवाले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न पौडेल सफल हुने विश्वास व्यक्त गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।