काठमाडौं- उपराष्ट्रपतिका लागि दुई जनाको उम्मेदवारी दर्ता गराएको जसपाले एक जनाको नाम फिर्ता लिने वा कि नलिने भन्नेबारेमा आन्तरिक छलफल सुरु गरेको छ।
निर्वाचन आयोगले आइतबार उपराष्ट्रपति पदका लागि दर्ता भएका चार जनाको उम्मेदवारी कायम रहने निर्णय गरेपछि जसपाले आफ्ना दुई वटै उम्मेदवार कायमै राख्ने वा एक जनाको फिर्ता लिने भन्ने निर्णय लिनेछ।
जसपाका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप यादवले आफू आन्तरिक छलफलका लागि पार्टी कार्यालय जान लागेको बताए। यादवले पार्टीले छलफल गरेर एक/डेढ घण्टा भित्रै निर्णय लिने बताए।
निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी रद्द गर्न सक्ने सम्भावनालाई मध्यनजर गरेर जसपाले रामसहाय यादवसँगै प्रमिलाकुमारी यादवको समेत उम्मेदवारी दर्ता गराएको थियो।
जसपा कार्यकारणी समिति बैठकले उपराष्ट्रपतिमा यादवलाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको थियो। त्यही भएर प्रमिलाकुमारी यादवको उम्मेदवारी जसपाले फिर्ता लिने सम्भावना रहेको जसपा स्रोतको दावी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।