काठमाडौं– जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको बताएका छन्।
शनिबार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि ममता झाले उम्मेदवारी दर्ता गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष राउतले गठबन्धनकै निर्णय अनुसार जनमत पार्टीको उम्मेदवारी दर्ता गराएको बताए।
उनले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउनका लागि छलफल जारी राख्नेकुरा भएको जानकारी दिए।
गठबन्धनभित्र आफ्नो पार्टीकै उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय हुनेमा उनले विश्वास व्यक्त गरे। आफ्नो पार्टीको उम्मेदवारलाई गठबन्धनको साझा उम्मेदवार नबनाए पनि आफूहरुले उम्मेदवारी फिर्ता नलिने उनको भनाइ छ।
जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार ममता झाले संविधानलाई जीवित राख्नका लागि आफूले उम्मेदवारी दिएको बताएकी छन्।
उनले सबै जातजातिको राज्यको निकायमा प्रतिनिधित्व हुनुपर्ने संविधानको मर्म रहेको उल्लेख गर्दै आफू मधेसको महिला हुनुले पनि उम्मेदवारी दिएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।