काठमाडौं– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिष्ट एकताको पहल सुरु हुने बताएका छन्।
शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रचण्डले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिष्टहरुले बृहत्तर एकताका निम्ति बहस सुरु गरिने बताए।
‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन’, उनले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ।’
उनले एकताका लागि माओवादी धाराका कम्युनिष्ट घटकहरूबिच छलफल भइरहेको जानकारी दिएका छन्। शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत बनाएको पनि उनले बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले भने, ‘भोलि संयुक्त अपिल गर्दैछौं, पत्रकार सम्मलेन गर्दैछौं। केही दिनमा समाजवादी मोर्चा बन्छ। संसारमा एकपटक कम्युनिष्ट आन्दोलन पराजित भएपछि उठेर आएका बिरलै दृष्टान्त छन्। चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ। नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौं। बृहत्तर वामपन्थी एकतामार्फत् चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।